हेटौंडाको गुन्द्रुकले पायो सरकारी मान्यता
२६ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ ।
हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।
लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त गरेको जनाइएको छ ।
उपमहानगरपालिकाको एक लाख लगानीबाट पहिलो चरणमा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको सागबाट करीब ३ लाखको गुन्द्रुक उत्पादन गरिएको उद्योगले जनाएको छ । अनुज्ञापत्र पाएसँगै अब २१ कठ्ठामा साग लगाउने तयारी गरिएको छ । उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । हेटौडा उपमहानगरभित्र रहेका होटल मेनुमा अनिवार्य रुपमा गुन्द्रुक समावेश गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा समेत मायाको चिनोको रुपमा गुन्दु्रक दिने गरेको छ । उपमहानगरपालिका आर्थिक बिकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।













