हेटौंडा १ स्थित पाथीभरा मन्दिरमा भैरवको मूर्ति अनावरण
२४ चैत्र, हेटौँडा । हेटौँडा १ भैरवडाँडास्थित पाथीभरा मन्दिर परिसरमा भैरवको मूर्ति अनावरण गरिएको छ ।
शनिबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई लगायतकाले संयुक्त रूपमा ६ फिट अग्लो भैरवको मूर्ति अनावरण गर्नुभएको हो । हेटौँडा–७ निवासी समाजसेवी नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो ।
मूर्ति अनावरण पश्चात् बोल्नुहुँदै नगर प्रमुख लामाले उपमहानगरले धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
त्यस्तै, चैत २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार मेयर लामाले शुभारम्भ गर्नुभएको छ । बाजागाजा, झाँकी सहित कलश यात्रासहित महायज्ञ सञ्चालन गरिने पाथीभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताउनुभयो । सप्तशती चण्डी पाठ एवम् नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राह्मणद्वारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दसैँका दिन समापन हुने पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । मन्दिरमा वैशाख १, ४ र ५ गते महापूजा हुने आयोजकले जनाएको छ ।













