हेटौंडा–भिमफेदी –काठमाडौ सडकखण्डमा चल्ने टाटा सुमोहरुको यान्त्रिक परिक्षण
२२ चैत्र, हेटौँडा । हेटौंडा – भैसे – भिमफेदी – काठमाडौ सडकखण्डमा चल्ने यात्रुवाहक टाटा सुमोहरुको बिहिबार यान्त्रिक परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर–२ भैसेमा ७९ वटा यात्रुबाहक टाटा सुमोहरुको यान्त्रिक परिक्षण गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय सवारी शाखाबाट खटिएका मेकानिकल टेक्निसियन र अटो मोबाइल्स सहितको प्रहरी टोलिले सुमोहरुको यान्त्रिक परिक्षण गरेका थिए । परीक्षण गरिएका टाटासुमोहरु मध्येमा २४ वटामा ब्रेक, क्लच, टायर, लाईट र ईन्जिनमा विभिन्न समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिनुभयो ।
सवारी साधनको यान्त्रिक परिक्षण नगराई सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने भएकाले दुर्घटनाको जोमिख न्यूनीकरण गर्न सडकमै यान्त्रिक परिक्षण गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
मकवानपुरमा यस आर्थिक वर्षको हालसम्ममा भएका एक सय ५९ वटा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् भने ७५ जना गम्भिर घाईते भएको प्रहरीको तथ्याङक छ ।














