मकवानपुरगढी गाउँपालिका ४ मा निर्मित समवेल सञ्चालन, दैनिक ६० हजार लिटर खानेपानी पानी थपियो
९ चैत्र, हेटौँडा । मकवानपुरगढी गाउँपालिका ४ मा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएको छ ।
विश्व पानी दिवसको अवसरमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले समवेल सञ्चालनमा ल्याएको हो । हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सिमानामा निर्माण गरिएको २ वटा समवेलको शुक्रबार उपमहानगरकी मेयर मिना कुमारी लामाले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मेयर लामाले स्थानीय तहसँगको समन्वय र साझेदारीमा कार्य गर्दा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खानेपानीको शुद्धता जाँच गर्ने सुविधा समेत उपमहानगरमै उपलब्ध रहेको बताउनुभयो । मेयर लामाले दीर्घकालिन रणनीतिका योजना कार्यान्वयनका लागि तीनै तहको सरकार समन्वय जरुरी रहेको बताउनुभयो ।

यस्तै बोर्डका अध्यक्ष प्रताप विष्टले बोर्डको आन्तरिक आम्दानीबाट निर्मित समवेलको प्रति मिनेट १२ सय लिटर पानी उत्पादन गर्ने क्षमता रहेको जानकारी दिनुभयो । २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको समवेलबाट दैनिक ६० लाख लिटर खानेपानी वितरण वितरण हुने अध्यक्ष विष्टको भनाइ छ ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले हाल बोर्डमा १ वटा सतहगत मुहान, ३७ डिप बोरिङ, १३ वटा सम्वेल र ६ हजार चार सय ४९ घनमिटर पानी भण्डारण क्षमता रहेको जानकारी गराउनुभयो ।













