फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म मकवानपुरमा मतदाता नामावली अद्यावधिक गरिने
२२ फागुन, हेटौँडा । मकवानपुरमा फागुन २८ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।
फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने मंगलबार आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले देशैभर मतदाता नामावली अद्यावधिक कार्य गर्न लागेको हो । जिल्लाका सबै वडाबाट नै मतदाता नामावलीमा दाबीविरोधसहित अद्यावधिक गर्न सकिने प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका कार्यालय प्रमुख तारा प्रसाद आचार्यले जानकारी दिनुभयो । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र कसैले झुटा विवरण दिएर नाम दर्ता गरेको भए सोको विरोधमा उजुरी दिने, एक भन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा मात्रै कायम गर्ने, मृत्यु भएका वा नेपाली नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायतका कार्य अद्यावधिक कार्यक्रममा हुने प्रमुख आचार्यले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुसँग छलफल कार्यक्रममा मतदाता नामावली अद्यावधिक लगायत समसामयिक विषयमा छलफल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सेढाईँको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।













