४ सय ८५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिए

१९ फागुन, हेटौँडा । भुटनदेवी एल्मोनाई एशोसियसनको आयोजनामा हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दीर्घायु गुरु हस्पिटल प्रालि र हार्ट फाउन्डेसन हेटौंडाको प्राविधिक सहयोगमा शनिबार हेटौंडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर भएको हो । दीर्घायु अस्पतालका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको शिविरबाट मकवानपुरका विभिन्न स्थानका ४ सय ८५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरबाट विभिन्न ७ प्रकारका स्वास्थ्य जाँच सेवा उपलब्ध गराईएको कार्यक्रम संयोजक धु्रवराज शर्माले बताउनुभयो । उहाँका अनुसार शिविरमा हाडजोर्नी, मुटुरोग सेवा, स्नायु तथा नशा रोग, स्त्री तथा प्रसूति रोग सम्बन्धी जाँच, जनरल फिजिसिएन सेवा, जनरल ल्याप्रोस्कोपी लगायतका सेवा उपलब्ध गराइएको थियो ।
शिविरमा इसिजि, इको, भिडियो एक्सरे सेवा, रगत जाँच सेवा सेमत उपलब्ध गराइएको थियो । शिविरमा स्वास्थ्य परामर्श सेवाका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको संयोजक शर्माले बताउनुभयो । स्वास्थ्य शिविरको प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले अवलोकन गर्नुभएको थियो । भुटनदेवी एल्मुनाई एशोसियसन भुटनदेवी माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था हो ।