गाँजा र अफिम फडानी प्रहरीको प्राथमिकतामाः प्रदेश प्रहरी प्रमुख केसी

१४ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रहरी प्रमुख विष्णु कुमार केसीले अफिम फडानीलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आइतबार सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्नुहुँदै प्रमुख केसीले अफिम फडानीमा प्रहरीको कुनै मिलेमतो नरहेको स्पष्ट पार्नुभयो । उहाँले प्रहरीलाई प्राप्त तथ्याङ्क अनुसार मकवानपुर जिल्लामा अफिमको खेतीहरु बढिरहेको जिकिर गर्नुभयो । प्रमख केसीले गाँजा र अफिम खेतीलाई नियन्त्रण गर्न विशेष कार्ययोजना नै बनाएर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तहहरुले समयमै टेण्डर आह्वान नगर्दा नदीजन्य पदार्थहरुको अवैध उत्खनन् रोक्न नसकेको उहाँले बताउनुभयो । यद्यपी अवैध उत्खनन्लाई रोक्न प्रहरीहरुलाई परिचालन गर्ने पनि प्रमुख केसीले उल्लेख गर्नुभयो ।
प्रमुख केसीले विगतको आर्थिक वर्ष भन्दा १५ प्रतिशत अपराध न्युनिकरण र नियन्त्रण गर्न प्रदेश मातहातका १० वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्यसम्पादन सम्झौता गरेको बताउनुभयो । अपराधको प्रकृतिहरु फरक–फरक भएकोले मुद्धाको संख्या भने कम नहुने उहाँको भनाई छ । प्रमुख केसीले बजेटको अभावमा लक्ष्य अनुसारको सिसी क्यामरा जडान गर्न नसकेको स्वीकार गर्नुभयो । अन्य निकायहरुसंगको सहकार्य नगरी प्रहरी सिसी क्यामरा जडान गर्न सक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रवीकुमार पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर जिल्ला अध्यक्ष मणिराज गौतम लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।