हत्या गरी फरार दुई जना १७ वर्षपछि पक्राउ

२९ पुस, हेटौँडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान गरेर फरार रहेका दुई जनालाई १७ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय मोटे भन्ने रामचन्द्र स्याङ्तान र ५० वर्षीय सार्की माइला भन्ने कालु गोले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । प्रहरीले दुबै जनालाई आइतबार घरबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तान र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए । उक्त घटनामा पक्राउ परेका ५ जना मध्ये एक जनाले सफाई पाएका थिए भने अर्काले तीन वर्ष जेल बसेर सजाय कटाएका थिए । तीन जना फरार रहेका थिए ।
फरार रहेकामध्ये २ जना पक्राउ परेका छन् । अझै एक जना फरार छन् । आइतबार पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालत मकवानपुरबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । पक्राउ परेको दुबै जनालाई कैद असुली गर्न भीमफेदी कारागार पठाएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।