तरकारी बजारमा रहेको स्टलको भाडा उपमहानगरले मागेको प्रति व्यवसायीहरुको आपत्ती
२८ मंसिर, हेटौँडा । हेटौंडा उपमहामनगरपालिका—१, चौकिटोल स्थित नेपाल फलफुल तथा तरकारी व्यवसायी संघको नवनिर्मित बजारको पहिलो वार्षिकोत्सव तथा पुजा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तरकारी तथा फलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद हुँमागाईले वर्षाको समयमा व्यवसायी त्रासमा बस्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभएको थियो । राप्ती किनारमा तरकारी बजार रहेकाले खोला नियन्त्रणका लागि सम्बन्धित निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष हुँमागाईले उपमहानगरले तरकारी बजार स्थानान्तरण लगतै स्टलको भाडा मागेको प्रति आपत्ति जनाउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महतले स्टलको भाडा नतिर्ने व्यवस्था मिलाउन उपमहानगरसँग पहल गर्ने आश्वासन दिनुभयो । आफ्नो कार्यकालमा हेटौंडा १० स्थित तरकारी बजार नदी उकास क्षेत्रमा सार्ने सहमती भएको स्मरण गर्दै सम्झौता अनुसार जमिनको मात्रै भाडा बुझाउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।
यता कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उपमहागरपालिकाले तरकारी बजारमा रहेका स्टलको भाडा लिन नमिल्ने बताउनुभयो । उपमहानगरले स्टलको भाडा मागेको विषयमा तरकारी व्यवसायीले गरेको गुनासोलाई सम्बोधन गर्दै उपमहानरले जग्गाको भाडा लिन स्वभाविक भएपनि व्यवसायीले आफैले बनाएको ट्रसको भाडा भने लिन नमिल्ने उहाँको जिकिर गर्नुभयो ।
हेटौंडा–१०, बसपार्कमा रहेको थोक तरकारी बजारलाई चौकीटोल स्थानान्तरण गरिएको एक वर्ष पूरा भएको अवसरमा पूजा समेत लगाइएको थियो ।













