मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प

स्वर्णिम खबर
८ मंसिर २०८०, शुक्रबार २१:२९

८ मंसिर, हेटौँडा । तीन महिना देखि तलब भत्ता नपाएको भन्दै हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले पठनपाठन ठप्प पारेका छन् ।
प्राध्यापकहरुको आन्दोलनका कारण प्रतिष्ठानका २ सय १ विद्यार्थी पढाइबाट बञ्चित भएका छन् । कात्र्तिक २२ गतेदेखि प्राध्यापकहरुले पेन डाउन गर्दा प्रतिष्ठानमा पठनपाठन कार्य रोकिएको हो । तलब रोकिदा दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुगेकाले पेनडाउन गर्न बाध्य भएको प्राध्यापक कण्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताउनुभयो । प्राध्यापकको आन्दोलन कारण स्नातक तह प्रथम सेमेस्टरको प्रि–बोर्ड परिक्षा समेत रोकिएको छ ।


प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताको रकम भुक्तानी दिन समस्या भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले स्वीकार गर्नुभयो । प्रतिष्ठानले पाउनुपर्ने करीब १० करोड रुपैयाँ नपाएका कारण प्रतिष्ठानलाई अध्ययन अध्यापन कार्य सुचारु गर्न कठिनाइ परेको उहाँको भनाई छ ।


यस विषयमा मुख्यमन्त्रीदेखि स्वास्थ्य र अर्थ मन्त्रालयसँग नियमित सम्पर्क तथा छलफल भैरहेको प्रतिष्ठानका रजिष्टार राजेश प्रशाईँले बताउनुभयो । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्याब विषयमा अध्यापन गराइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*