जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने
२६ कार्तिक, काठमाडौँ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आईतवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम २५÷२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराईने जनाइएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताउनुभयो । उहाँले सरकारसँग भएको साधन र स्रोतकाअनुसार राहत पठाइरहेको बताउनु भयो । उहाँले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले अस्थायी आवास बनाउनका लागि ढिलो गर्नु नहुने पनि बताउनु भयो ।













