मकवानपुरमा राति ९ बजेपछि देउँसी भैलो खेल्न रोक
२४ कार्तिक, हेटौँडा । मकवानपुरले राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन समेत आग्रह गरेको छ । प्रशासनले विष्फोट जन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरणमा नगर्न पनि विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
जुवातास खेल्ने÷खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा गरेमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।













