आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै
२६ असोज, हेटौँडा । मकवानपुरमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढेको पाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत गत आर्थिेक वर्षमा २१ हजार ९ सय ५६ बिरामीले उपचार सेवा लिएका छन् । आयुर्वेद सेवाको प्रबद्धन गर्न स्थानीय स्तरका पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सेवा बारेमा जानकारी दिइएको हो । केन्द्रका आएका विरामी मध्ये सबैभन्दा बढी पञ्चकर्म सेवा लिने रहेका छन् । गत आर्थिक वर्षमा १ हजार ८ सय ३७ जनाले पञ्चकर्म उपचार सेवा लिएका छन् । २ सय १० जना स्तनपायी आमालाई दूधवद्र्धक औषधि वितरण गरिएको छ । ७ सय ५२ जना ७० वर्ष माथिका स्वास्थ्य प्रवद्धन औषधि दिइएको छ । यो अवधिमा केन्द्रमा २ हजार २ सय ८ वटा प्रयोशाला परीक्षण भएको तथ्यांक छ । मकवानपुरका १० स्थानीय तह मध्ये ४ वटामा नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा प्रदान भैरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका प्रमुख ललिता पाण्डेले बताउनुभयो । केन्द्रले विशेषज्ञ सहितको बहिरंग सेवा, निशुल्क औषधी वितरण, ससुल्क फार्मेसी, पुर्वकर्म र पञ्चकर्म सेवा, स्तनपायी सेवा, ज्येष्ठ नागरिक सेवा, प्रयोगशाला र निशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेको छ । केन्द्रले भीमफेदी गाउँपालिकामा एक स्थानीय तह एक जडीबुडी कार्यक्रम सुरु गरेको छ । केन्द्रले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा ७ बिगाहा ७ कठ्ठा जग्गामा विरामी भर्ना सेवा सहितको भवन निर्माण गर्ने भएको छ र यसका लागि जग्गा प्राप्त गर्ने प्रकृया अन्तिम चरणमा रहेको प्रमुख पाण्डेले बताउनुभयो ।













