हेटौंडा अस्पतालमा चिकित्सकहरुको विरोध प्रदर्शन
१० असोज, हेटौँडा । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै हेटौंडाका चिकित्सकहरुले विरोध प्रदर्शन गरेको छ ।
सन्चो अस्पताल, मणिपाल शिक्षण अस्पताल सहित देशभर विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार हेटौंडा अस्पतालको प्राङगणमा बिरोध प्रदर्शन गरेका हुन् । नेपाल मेडिकल एशोसियसन हेटौंडा शाखाको आयोजनामा भएको प्रदर्शनमा स्वास्थ्य क्षेत्रसंग सम्बिन्धत सबै सरोकारवालाहरुले ऐक्यबद्धता जनाएका छन् । स्वास्थ्य संकटकाल घोषणा गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग चिकित्सकहरुले राखेका छन् । बिरोध प्रदर्शनका क्रममा आन्दोलनरत चिकित्सक डा. हरिबहादुर खड्काले सन्चो अस्पतालमा चिकित्सक कुट्नेहरुलाई अझै पनि कारवाहीको दायरामा नल्याएको भन्दै असन्तुष्टि जनाउनुभयो । आफुहरुले सुरक्षाको महशुस नगरेसम्म सेवा दिन असमर्थ रहेको उहाँले बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष भोला चौलागाईले स्वास्थ्यकर्मीलाई भयरहित ढंगले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्नुभयो । आवश्यक परे देशभरीका स्वास्थ्य सेवा ठप्प पार्न समेत आफुहरु पछि नहट्ने उहाँले बताउनुभयो ।
प्रदर्शनमा सहभागी अन्य चिकित्सकहरुले सुरक्षाको अनुभुति नभएसम्म स्वास्थ्य क्षेत्रबाट पलायन हुने अवस्था सिर्जना हुने बताएका थिए ।













