मानसिक समस्याबारे चेतना बढ्दै, मनोरोग उपचार गराउनेको सँख्या भने न्युन
८ असोज , हेटौँडा । हेटौंडा १० निवासी ३२ बर्षिया सरिता पाण्डे (नाम परिवर्तन) लाई करिब ३ महिना देखि घरमै बसिराख्दा पनि मन आत्तिने , अब के हुन्छ भन्ने डर पैदा भइरहन्थ्यो ।
केही समयअघि टिकटकमा एकजना मनोरोग विशेषज्ञको जानकारीमुलक भिडियो हेरेपछि आफ्नो समस्या मानसिक समस्या हो जस्तो लागेर हेटौंडा अस्पतालमा जचाँउन आइन । आफुलाई एन्जाइटी भएको थाहा भएपछि अहिले उपचारमा लागेकी छिन् । पहिले अरुले के भन्लान भनेर कसैलाई नभनेको समस्या बिशेषज्ञकहाँ आएर उपचार पाएपछि अहिले मनोबल बढेको बताउछिन् । सरिता जस्तै सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट मानसिक समस्याबारे जानकारी पाएर आफ्ना मानसिक समस्या समाधानका निम्ति अस्पताल धाउनेहरुको सँख्या बढ्दै गइरहेको हेटौंडा अस्पतालका मनोरोग बिशेषज्ञ डाक्टर उद्धव लामा बताउनुहुन्छ । उहाँका अनुसार हेटौंडा अस्पतालमा दैनिक २० देखि ३५ जनासम्म बिरामीहरु मानसिक समस्या लिएर आउने गरेका छन् । नेपाली समाजमा मानसिक समस्यालाई सामान्य कुरा मानिने र इज्जत जाने डरका कारण यस्ता समस्याहरुबारे बिरामीहरु खुलेर सहज रुपमा उपचारमा जान चाहदैनन । समस्या नियन्त्रण बाहिर गएपछि मात्रै स्वास्थ्य सँस्थामा बिरामीहरु जाने गर्दथे । तर पछिल्लो समय भने जँचाउन आउने धेरैजसोले सामाजिक सञ्जालबाट समस्याबारे जानकारी पाएर विशेषज्ञ सेवा लिन आएको डाक्टर लामाले बताउनुभयो । उनीहरु निन्द्रा नलाग्ने, डर लाग्ने, आत्तिएको जस्तो हुने, बढी चिन्ता हुने जस्ता समस्याहरु पनि मानसिक समस्या हो र यसको उपचार विशेषज्ञबाट हुन्छ भन्ने जानकारी सामाजिक सञ्जालबाट पाएका कारण परामर्शका लागि आएको डाक्टरलाई बताउछन् । डाक्टर लामाका अनुसार २०७२ सालको भुकम्प तथा कोभिड १९ को महामारीपछि मानसिक समस्या अत्याधिक बढेको भएपनि उपचारमा आउने न्युन छन् । यद्यपी आउनेमध्ये अधिकाँश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको कारणले नै आउने गरेको उहाँको दाबी छ । सबैभन्दा बढी समस्या डिप्रसन र एन्जाइटी देखिएको छ भने मकवानपुरको सन्दर्भमा लागुऔषध दुव्र्यसनी र मादक पदार्थ अत्याधिक सेवनका कारण पनि मानसिक समस्या बढी देखिएको लामाको भनाइ छ । यस्तै विविध कारणले गर्दा पुरुषलाई भन्दा बढी महिलालाई मानसिक समस्या बढी देखिने गरेको छ । महिलालाई सामाजिक रुपमा विभेद, स्वतन्त्रताको अभाव र अधिकतम कामको जिम्मेवारी जस्ता बिषयले मानसिक समस्या निम्तिने गरेको उहाँले बताउनुभयो । यस्तै घर र कार्यक्षेत्रका कामको दोहोरो भुमिकामाथि सामाजिक सँस्कारहरुले थिचिइ तनाब व्यवस्थापन गर्न नसक्दा महिलालाई बढी मानसिक समस्या देखिने बिशेषज्ञको भनाइ छ । सामाजिक सञ्जाल सँगै विभिन्न संघसँस्थाहरुले मानसिक स्वास्थ्य बिषयमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छन् ।

उपचार गराउने अझै न्युन
मानसिक स्वास्थ्यबारे जनचेतना बढ्दै गएपनि उपचार सेवा लिनेको सँख्या अत्यन्त न्यून छ । दैनिक रुपमा हेटौंडा अस्पतालमा एक हजार भन्दा धेरै बिरामीहरु अन्य सेवा लिन आइरहँदा मनोरोग उपचारका लागि ३० जना भन्दा कम आउने गर्दछन् । गत साउन महिनामा यस अस्पतालमा ३१ हजार ८ सय ९४ जनाले उपचार सेवा लिएकोमा मनोरोग तर्फ जम्मा २ सय ९६ जनाले मात्र सेवा लिएका थिए । मानसिक रोग तथा समस्याहरुबारे जानकारी बढ्दै गएपनि अस्पताल जान संकोच मान्ने परिपाटीले गर्दा उपचार गराउनेको सँख्या न्युन नै रहेको मनोरोग बिशेषज्ञहरुको भनाइ छ ।













