हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न आग्रह
१५ साउन, हेटौँडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न मकवानपुरका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) द्वारा गठित समितिले दुई महिनाको अध्ययन पश्चात् प्रतिष्ठानको वाग्मती प्रदेशबाट पास गरिएको ऐनमा हेटौंडा अस्पतालसँग जोडिएको विषयहरु सवै खारेज गर्न समेत अनुरोध गरेको छ । समितिले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सुझाव दिएको हो । हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्दै विगतमासरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै तीनसय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्न समेत समितिले माग गरेको कांग्रेस मकवानपुरका सचिव तथा समिति संयोजक भीमसेन महतले बताउनुभयो । समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र स्वास्थ्य मन्त्री उत्तम जोशीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानको सम्पूर्ण क्षमताको अध्यापन नगराउँदासम्म पाँचसय वेडको अस्पताल आवश्यक पर्ने भएकाले सोही क्षमताको अस्पतालको योजना बनाएर तत्काल काम सुरु गर्न अनुरोध गरेको छ । महतको नेतृत्वमा गठित समितिमा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, नेकपा (एस) का सचिव ध्रुब भुजेल तथा विज्ञ सदस्यको रुपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहेका छन् ।













