हेटौंडा उपमहानगरको बजेट घट्यो

स्वर्णिम खबर
२ असार २०८०, शनिबार १५:२१

२ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि २ अर्व ६० करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
शनिबार उपमहानगरको १३ औं नगरसभामा उपमेयर राजेश बानिंयाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट  सार्वजनिक गर्नुभएको हो । बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि उपमहानगरले चालु आर्थिक वर्षको तुलनामा ११ करोड कम बजेट विनियोजन गरेको हो । उपमेयर बानियाँका अनुसार अनुमानित बजेटमध्ये खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।


यसैगरी उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर बानिंयाले बताउनुभयो ।


नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*