म्यानेजमेन्टले पायो क्युएएको मान्यता
२८ चैत्र, हेटौँडा । स्थापनाकाल देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) मान्यता प्राप्त गरेको छ ।
शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, व्यवस्थित पुस्तकालय, आन्तरिक व्यवस्थापन लगायतका सूचक पार गरेको म्यानेजमेन्टलाई विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र प्रदान गरेको हो । ६ वर्षको अथक मेहनत र प्रयासले प्राप्त गरेको उपलब्धी मकवानपुरको लागि पनि गौरवको विषय रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बताउनुभयो । प्रिन्सीपलको मात्र मेहतन नभई सबैको टिम वर्कले मान्यता पाउन सफल भएको उहाँले बताउनुभयो ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्युएए मान्यता पाउने मकवानपुरको दोस्रो शैक्षिक संस्था हो । क्युएए मान्यता पछि क्याम्पसको लागि चूनौती पनि थपिएको प्रिन्सीपल जोशीले बताउनुभयो ।
यसअघि मकवानपुर बहुमुखी क्याम्पसले क्युएए मान्यता पाएको थियो । क्युएए प्राप्त गर्ने शैक्षिक संस्थाले सरकारी निकायबाट अनुदान लगायतका सुविधा पाउने गर्दछन् ।














