प्रधानमन्त्रीले नै देशमा अस्थिरता निम्त्याउन खोज्दै छः सचिव विष्ट

४ चैत्र, हेटौंडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने खोजेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव विष्टले प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गर्नुभयो । नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवादी चरित्र देखाएको उहाँले टिप्पणी गर्नुभयो । भर्खर सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबाट एमाले नआत्तिएको सचिव विष्टले बताउनुभयो ।
सचिब विष्टले अहिलेको सत्ता समिकरण धेरै नटिक्ने दाबी समेत गर्नुभयो । सत्ता स्वार्थको लागि मात्रै यो गठबन्धन बनेको उहाँले जिकिर गर्नुभयो । बाह्य शक्तिको आडमा नेकपा एमालेलाई कमजोर बनाउनका लागि अरु दलहरु एक ठाउँमा आएको उहाँको भनाइ छ । सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको स्पष्ट पार्नुभयो । सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई अन्याय गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवि ज्ञवाली, एमालेका बागमती प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।