मकवानपुरमा हात्तीलाई नियन्त्रणमा लिन सांसद् महेश बर्तौलाको माग
१२ फागुन, हेटौँडा । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तिको आतंकबाट मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नु भयो । उहाँले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतंक सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति समेत जनाउनुभयो । सांसद बर्ताैलाले हात्तिले आतंक फैल्याएपछि विद्यार्थीहरु विद्यालय समेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो समेत गर्नु भयो ।
हात्तीको आक्रमणबाट मकवानपुरको बकैयामा पनि एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर–५ पावस निवासी ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि सोही हात्तीको आक्रमणबाट मनहरी गाउँपालिकामा ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको थियो ।













