हेटौंडा अस्पतालको नयाँ भवन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन

स्वर्णिम खबर
९ फाल्गुन २०७९, मंगलवार १५:४२

९ फागुन, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पु¥याउनु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले मानिसको बदलिँदो जीवनशैली र वातावरण असन्तुलनका कारण रोगको प्रकोप फैलिदै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले कोभिड–१९, डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने समेत जिकिर गर्नुभयो । स्वदेशमै गुणस्तरीय सेवा तथा स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले महत्वपुर्ण योगदान पु¥याउनेमा राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी प्रतिष्ठानका कुलपति एवम् प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतिष्ठानको स्थापनालाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अगाडि बढाएर सफल बनाइएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले प्रदेशका १ सय १९ वटै पालिकामा स्वास्थ्य अवस्थाको अध्ययन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले लामो मेहेनत, प्रहार र अवरोधकाबीच प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको नयाँ भवन निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले रेफर अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालको पहिचान फेरिएको उल्लेख समेत गर्नुभयो ।
२०७६ साल असोज २ गते प्रदेशस्तरमै पहिलोपटक बागमती प्रदेशको राजधानी हेटौंडामा प्रतिष्ठानको स्थापना भएको थियो । ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*