भारतद्वारा नेपाललाई दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन हस्तान्तरण

८ फागुन, काठमाडौँ । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गर्नुभएको हो । करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गर्नुभयो । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नसकिने पनि बताउनु भयो ।
नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तिब्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।
भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।