राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छः मन्त्री शर्मा

स्वर्णिम खबर
२४ माघ २०७९, मंगलवार १८:१६

२४ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताउनु भयो ।
सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले प्रतिनिधि सभा अन्तर्गतका समितिहरु निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरु पनि संसदमा पेस गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले संघीय निजामति सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताउनुभयो । उहाँले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यक्ता सरकारले औंल्याएको पनि उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*