किसानको भूमिका तथा समग्र कृषि प्रणालीको सुदृढीकरणमा जोड
२५ वैशाख, चितवन । नेपाल कृषि अनुसन्धान परिषद्को ३४ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम ले विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा दिवस मनाएको छ।
“उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कृषि अनुसन्धानको महत्व, किसानको भूमिका तथा समग्र कृषि प्रणालीको सुदृढीकरणमा जोड दिइएको थियो ।
कार्यक्रममा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका संयोजक देवीप्रसाद अधिकारीले अनुसन्धानमार्फत उत्पादन वृद्धि, रोग नियन्त्रण तथा उन्नत गाईका जात विकासमा हासिल भएका उपलब्धिहरू प्रस्तुत गर्नुभयो। उहाँले गाईपालक किसानका समस्या समाधान तथा उत्पादनमूलक पशुपालन प्रवद्र्धनका लागि अनुसन्धान अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालय का प्राध्यापक डा. निरञ्जन भट्टराई ले अनुसन्धान, शिक्षा र कृषकबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले रामपुरमा स्थापित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादनको अपेक्षा गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै डा. उद्धव पनेरु ले कृषकबिनाको अनुसन्धान सम्भव नरहेको उल्लेख गर्दै अनुसन्धानको केन्द्रबिन्दु नै कृषक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चितवन, सिन्धुली, मकवानपुर र तनहुँ लगायत विभिन्न जिल्लाका ५० जना कृषकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषक र कृषि विज्ञबीच अन्तरक्रिया गराइएको थियो, जहाँ कृषकहरूले आफ्ना अनुभव, समस्या तथा जिज्ञासाहरू प्रस्तुत गरेका थिए ।
स्थापना दिवसको अवसरमा गाई अनुसन्धान कार्यक्रमले श्रमिकहरूबीच घाँस काट्ने प्रतियोगिता तथा दूध दुहने प्रतियोगिता समेत आयोजना गरेको थियो । घाँस काट्ने प्रतियोगितामा सीता कुमाल प्रथम हुनुभयो भने दूध दुहने प्रतियोगितामा अञ्जना दराई प्रथम हुनुभयो । विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साताव्यापी कार्यक्रमका संयोजक डा. यज्ञराज पाण्डे ले स्थापना दिवसलाई अनुसन्धान, कृषक सहभागिता र श्रमको सम्मानसँग जोडेर उत्साहपूर्वक मनाइएको जानकारी दिनुभयो ।













