उद्योग संघ मकवानपुरमा मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२६ चैत्र, हेटौँडा । उद्योग संघ मकवानपुरमा श्रीहरी मास्केको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
संघको बिहिबार सम्पन्न २४ औं साधारणसभा एवम् १८ औं अधिवेशनले मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा किशोर अर्याल, उपाध्यक्षमा सुयेश पराजुली, महासचिवमा शिरोमणी प्याकुरेल, सचिवमा बुद्धराज अर्याल, कोषाध्यक्षमा दिवस चौलागाईं तथा सह–कोषाध्यक्षमा शरदचन्द्र भट्टराई चयन हुनुभएको छ ।
त्यसअघि नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता एवम् संघ मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीनाथ शर्माको सभाध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष पाण्डेले उत्पादनमूलक उद्योग र व्यापारिक व्यवसायलाई फरक दृष्टिकोणले हेर्न आवश्यक रहेको बताउनुभयो । उद्योगले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । कच्चा पदार्थ र तयारी वस्तुको कर तथा भन्सार दरमा फरक व्यवस्था हुनुपर्ने उल्लेख गर्दै औद्योगिक वातावरण निर्माणमा सरकार गम्भीर बन्नुपर्नेमा अध्यक्ष पाण्डेको जोड थियो ।
उहाँले आत्मनिर्भर अर्थतन्त्रका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको बताउनुभयो । असान्दर्भिक २८ वटा ऐन संशोधन तथा ५ ऐन खारेज गर्नुपर्ने उहाँले बताउनुभयो । स्वदेशी उत्पादनको अधिकतम प्रयोगले अर्थतन्त्र बलियो बन्ने भएकाले सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष बनाउन सरकारसँग पनि उहाँले आग्रह गर्नुभयो । साथै मयूरधाप र शक्तिखोर औद्योगिक क्षेत्र यथाशीघ्र सञ्चालनमा ल्याउन अध्यक्ष पाण्डेले ध्यानाकर्षण गराउनुभयो ।
संघ मकवानपुर निवर्तमान अध्यक्ष शर्माले भूकम्प, नाकाबन्दी र कोभिड–१९ जस्ता संकटबीच पनि उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरू हाल अन्तर्राष्ट्रिय परिस्थितिका कारण थप प्रभावित बनेको बताउनुभयो । रुस–युक्रेन युद्धपछि कच्चा पदार्थको अभाव र मूल्यवृद्धि बढेको तथा इरान–अमेरिका तनावका कारण उद्योगहरू थप संकटमा पर्न सक्ने उहाँको भनाइ थियो । उद्योग प्रवद्र्धनका लागि स्वदेशमै कच्चा पदार्थको सुनिश्चितता, आयातमा सहुलियत र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । व्यापार घाटा न्यूनीकरणका लागि १० बुँदे सुझाव प्रस्तुत गर्दै औद्योगिक क्षेत्रको जग्गा ९९ वर्षका लागि न्यून भाडादरमा उपलब्ध गराउने, परियोजनाका आधारमा ऋण प्रवाह गर्ने, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने वा विकल्प खोज्ने तथा विद्युत् क्षमता ११ केभीएबाट ३३ केभीएमा स्तरोन्नति गर्नुपर्ने माग राखिएको छ ।
कार्यक्रममा प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको पत्रकारिता पुरस्कार यस वर्ष टेलिभिजन क्षेत्रमा सक्रिय पत्रकार भावना रिजाललाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उद्योगीका तर्फबाट जीवनकुमार लामा तथा पूर्व अध्यक्षका तर्फबाट नवराज अर्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघमा हाल मकवानपुर जिल्लाका १ सय ५० उद्योगहरू आवद्ध रहेका छन् ।














