असन्तुष्टका पोकाहरुबाट देशको समस्या समाधान हुन सक्दैनः मुख्यमन्त्री जम्कट्टेल
१४ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले देखिएका केही असन्तुष्ट पक्षहरुले देश चलाउन नसक्ने बताउनुभएको छ ।
देशमा गणतन्त्र के गरी आयो भन्ने ज्ञानसमेत नभएका केही भीडले देशको परिवर्तनलाई संस्थागत गर्न समस्या खडा गरेको उहाँले आरोप लगाउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रमुख राजनीतिक दलको अथक संघर्ष पश्चात जनताले बोल्ने, संविधान हेरेर व्याख्या गर्ने अवस्थाको सृजना भएको बताउनुभयो । देश समस्यामा परेको अवस्थामा यस्ताखाले असन्तुष्टका पोकाहरुबाट समाधान कहिल्यै हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रतिष्ठानलाई सरकारले गौरवको योजनाको रुपमा राखेर काम अघि बढाएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेमा उहाँले विश्वास समेत गर्नुभयो । कतिपय राजनीतिक विषयहरुले कहिलेकाहीं समस्यामा पार्ने भन्दै त्यस्ता खाले समस्यालाई छलफलद्वारा समाधान गर्नुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलको जोड थियो । संघीयतालाई सफल बनाउन यस्ता खाले गौरवको योजनालाई प्रदेश सरकारले महत्वपूर्ण स्थान दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रतिष्ठानले अहिले सम्म गरेका काम, हेटौंडा अस्पतालमा तीन वर्षको अबधिमा ल्याउन सकिएको परिवर्तनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री उत्तम जोशी, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु मधुसुधन पौडेल, रामेश्वर श्रेष्ठ, एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो ।













