यु–२० महिला महिला टोलीको बिदाई
२१ जेठ, काठमाडौँ । म्यानमारमा आयोजना हुने एएफसी यु–२० महिला एशियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न जाने नेपाली महिला टोलीलाई आईतवार बिदाई गरिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आईतवार एन्फाले एक कार्यक्रमको आयोजना गरेर म्यानमारमा छनोट खेल्न जान लागेको नेपाली महिला टोलीको बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह लगायतले बिदाई गर्नुभयो । एन्फा अध्यक्ष नेम्वाङले म्यानमार भ्रमणलाई सार्थक बनाउन शुभकामना दिनुभयो । छनोट अन्तर्गत नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ छन् । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग अन्तिम छनोट खेल खेल्नेछ । नेपालले यस अघि प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई याम प्रसाद गुरुङले गरेका छन् भने नेपाली टोलीको कप्तानी दिपा शाहीले सम्हाल्ने छिन् ।













