केही खुकुलो गरी मकवानपुरमा एक हप्ता निषेधाज्ञा थपियो
३० जेठ, हेटौँडा । मकवानपुर जिल्लामा फेरि एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।
आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय पनि गरेको छ । बैठकको निर्णयअनुसार अत्यावश्यक खाद्यान्न, तरकारी, माछा मासु पसलहरु बिहान ४ बजेदेखि १० बजेसम्म खुल्ने छन् । यस्तै हप्ताको ३ दिन मात्र खुल्ला रहेको बैंक तथा वित्तिय संस्थाहरुलाई अब दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कारोवार सञ्चालन गर्न दिने निर्णय गरेको छ तर बजारमा पैसा संकलन गर्न भने पाउने छैन । असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले जिल्लामा सञ्चालनमा रहेको पुस्तक तथा स्टेशनरी पसलहरु पनि बिहान १० बजेसम्म खोल्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले मोवाइल, ल्यापटप लगायत इलेक्ट्रोनिक्स सामग्री मर्मत गर्ने पसलहरु पनि सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ ।













