आइतबार १८३ जना कोरोना संक्रमणमुक्त, ८४ जना संक्रमित थपिए, ३ जनाको मृत्यु
२३ जेठ, हेटौँडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८३ जनाले कोरोना संक्रमणमुक्त भएका छन् ।
होम आइसोलेसनबाट १ सय ५० जना र आइसोलेसनबाट ३३ जना गरी थप १ सय ८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ हजार १ सय ९३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित थपिएका छन् । १ सय ५७ जनमा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २९ जना रहेका छन् । यसैगरी मनहरी गाउँपालिकाका १६ जना, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाका १२–१२ जना, बकैया गाउँपालिकाका ११ जना, बागमती गाउँपालिकाका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिकाका एक–एक जना रहेको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।
यस्तै जिल्ला भित्रका २ जना र जिल्ला बाहिरका १ जना गरी थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका २ का ५० वर्षीय पुरुष, राक्सिराङ–१ का ८२ वर्षीय पुरुष र सलार्हीका ८६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुर जिल्लामा हाल सम्म मृत्यु हुनेको संख्या १ सय ५ जना पुगेको छ ।













