मकवानपुरमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्बियो, खाद्यान्नका पसलहरु बिहान ८ बजेसम्म खोल्न पाइने
१९ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा निषेधाज्ञालाई केही खुकुलो गरी जेठ मसान्तसम्म लम्बाईएको छ ।
बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको क्रममा लगाइएको यसअघिको प्रतिबन्ध भने केही खुकुलो गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । खाद्यान्न र बैंकिङ क्षेत्रलाई केही खुकुलो गरिएको हो । अबदेखि जिल्लाको सबै क्षेत्रमा बिहान अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु विहान ४ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न दिइनेछ । यस्तै बैंकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हप्ताको ३ दिन आइतबार, मंगलबार र विहिबार विहान १० बजेदेखि २ बजेसम्म संचालन गर्न पाइनेछ । अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु भने पूर्ववत् रुपमै बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बैठकले खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, पशुपञ्छीको दाना, कृषि उपज, बिउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधनहरु पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै कामदार कर्मचारीलाई उद्योग परिसरमै आवासीय व्यवस्था मिलाएर वा घरबाटै लाने लैजाने व्यवस्था गरेर उद्योग सञ्चालन सक्ने निर्णय गरेको छ ।













