शनिबार मकवानपुरमा ९० संक्रमित थपिए, ४ जनाको ज्यान गयो
१ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा शनिबार ९० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
वैशाख २९, ३० र ३१ गते सकंलित स्वाबको परीक्षण गर्दा ९० जनामा कोरोना पोजेटिभ देखिएको हेटौँंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।संक्रमित हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका ६५ जना रहेको छ । त्यस्तै थाहा नगरपालिकाको ११ पुरुष र ७ महिलासहित १८ जना, मनहरीको महिला र पुरुष १–१ जना, मकवानपुरगढीको १ पुरुष र २ महिला गरी ३ जना, भीमफेदीको १ जना पुरुष र बारा जिल्लाको १ जना महिलामा संक्रमण पुष्टि भएको निरीक्षक चौलागाईले वताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा हेटौंडामा कोरोना संक्रमणको कारण ४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका वडा नंंं. ५ का ३ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ज्यान जानेहरुमा हेटौंडा–५ का ५९ वर्षीय पुरुष, ४६ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन् । यसैगरि ज्यान जानेमा हेटौंडा ४ का ७५ वर्षीया महिला रहेकी छन् । संक्रमित ४ जनाकै उपचारको क्रममा हेटौंडा अस्पतालको कोभिड कक्षमा ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट जानेको संख्या ५८ पुगेको छ ।













