हेटौंडामा चाडपर्व लक्षित अनुगमन सुरु
२१ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वलाई लक्षित गरि बजार अनुगमन थालेको छ ।
हेटौडा उपमहानगर भित्रका खाद्यान्न, लत्ताकपडा, भाडा, रंग लगायतका १२ वटा पसलमा आइतबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा बिल बिजक नराखिएका, दर्ता नभइ सञ्चालन गरिएका, म्याद गुज्रेका सामान बिक्रि वितरण गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिनुभयो । अनुगमन टोलीले म्याद नाघेको रंग बिक्रि गर्ने हेटौंडाको एक पसललाई १० हजार जरिवाना गराएको छ । दर्ता नभएको भडा पसललाई सम्बन्धित निकायमा दर्ता गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
चाडबाड लक्षित बजार अनुगमनले निरन्तरता पाउने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले व्यापारी र आम उपभोक्तालाई सचेत गराउन, सम्भावित कालोबजारी रोक्न अनुगमनले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बजार अनुगमन अन्य स्थानीय तहमा पनि गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा गरिएको बजार अनुगमनमा उद्योग वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।













