तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारलाई
१४ असोज, हेटौँडा । तेस्रो मिस्टर मकवानपुरको उपाधि सरुन परियारले जितेको छ ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताको बिजेता ७० केजी तौल समूहका परियार बनेका हुन् । उनले उपाधिसंगै नगद एक लाख, मेडल र ट्रफि प्राप्त गरेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीना कुमारी लामाले पुरस्कारहरु हस्तान्तरण गर्नुभएको हो । यस्तै, प्रतियोगिताका फस्ट रनअप ७५ केजी तौलका राज शाही र सेकेण्ड रनरअप ६० केजी तौलका शैलेन्द्र कुमार साह घोषित भए । उनीहरु क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित मेडल र ट्रफि प्राप्त गरे । मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै, महिला खेलाडीहरुलाई शारिरिक सुगठनतर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा समेत गराइएको थियो । मकवानपुरमा पहिलो पटक गरिएको उक्त प्रतियोगितामा ४ जना महिला खेलाडीले सहभागी थिइन् । जसमा अरिमा थिङ विजेता बनेकी थिइन् । उनले २० हजार नगद मेडल प्राप्त गरिन् भने द्धितीय स्थान शान्ता माया स्याङ्तान, तृतीय स्थान जुनी पुलामी मगर र चौथो स्थानमा कल्पना कुमारी दर्लामी मगर भएकी थिइन् ।
यसैगरी, प्रतियोगतामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्सको पनि आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ८ जना भेट्रान्स खेलाडीले सहभागिता जनाएका थिए । जसमा विजेता विमल लामा, द्धितीय बुद्ध लामा र तृतीय स्थान भुवन बहादुर तामाङ र चौथो स्थानमा विकास बानियाँ भए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लव भनेर वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।















