हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प
२९ भाद्र, हेटौँडा । डाक्टर कुटपिटमा संलग्नलाई कडा कारवाहीको माग गर्दै हेटौँडा अस्पतालमा चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो । अस्पतालको ओपिडी सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन् भने इमर्जेन्सीमा बिरामीको चाप बढेको छ । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।













