नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा, ७२ घण्टाभित्र दोषीलाई कारबाही गर्न माग

स्वर्णिम खबर
२८ भाद्र २०८०, बिहीबार १९:०७

२८ भाद्र, हेटौँडा । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताउनु भयो । डा.तिवारीले देशमा कानूनी राज्यको प्रत्याभुति चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न नसकेको बताउनु भयो ।
डा.थापाले एक समूहले हातपात गरेको बताउनु भयो । उहाँले दुवै चिकित्सकको टाउकोमा गम्भिर चोट लागेको बताउनु भयो । उहाँले एक महिनाअघि एक बिरामीको मृत्यु भएपछि मृत्युको विषयलाई लिएर एक समूहले आफूहरुमाथि आक्रमण गरेको बताउनु भयो । उहाँले सञ्चो अस्पतालबाट भरतपुर रेफर गरिएको र भरतपुरमा नै बिरामीको मृत्यु भएको बताउनु भयो ।
सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधवार चिकित्सकहरुमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*