फिचर संगालो पुस्तकको विमोचन
२० भाद्र, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले तयार पारेको फिचर संगालो पुस्तक विमोचन गरिएको छ ।
महासंघले दुई चरणमा आयोजना गरेको प्रतियोगितामा पुरस्कृत फिचर संग्रह बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आथित्यतामा फिचर सँगालो विमोचन गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि अध्यक्ष पोखरेलले समाजलाई सकारात्मक पाटोमा लैजाने किसिमको पत्रकारिता गर्न आग्रह गर्नुभयो । समाजका मुद्धालाई सामाजिकरण गर्ने दायित्व पत्रकारको भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई करेक्सनको कोर्षमा लग्नको लागि नै महासंघले सदस्यता शुद्धिकरण अभियान चलाएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघलाई प्रविधिसँग जोड्न मनहरी गाउँपालिकाले एक थान प्रोजेक्टर, प्रिन्टर, खानेपानिको लागि फिल्टर र पत्रकारका लागि एक सय थान ज्याकेट हस्तान्तरण गरेको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले महासंघ अध्यक्ष मणिराज गौतमलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कालाखेतीले जिम्मेवारपुर्ण पत्रकारिता गर्न आग्रह गर्नुभयो ।













