नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोहीपनि बाहिर हुने छैनन्ः प्रधानमन्त्री दाहाल
३१ साउन, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताउनुभएको छ ।
बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने दाबी गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गर्नुभयो । उहाँले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताउनुभयो । प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडी बढाइएको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गर्नुभयो ।
यस्तै समारोहलाई सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताउनुभयो । उहाँले आन्तरिक श्रम बजारको गतिशिलता मार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक पर्ने नितिगत व्यवस्थाहरुमा सरकार काम गरिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना भइरहेका बताउनुभयो ।













