हेटौंडा १० स्थित डम्पिङ साइटमा वृक्षारोपण
२४ साउन, हेटौंडा । हेटौंडा १० स्थित बाइपास रोडको डम्पिङ साइटमा वृक्षारोपण गरिएको छ ।
डम्पिङ साइटलाई सेनेटरी पार्क बनाउने अभियानमा लागेको हेटौंडा उपमहानगरपालिकाले राप्ती खोलाको शवदाह स्थलदेखि त्रिवेणी जाने बाटो रिभर साइडमा ६० वटा गुलमोहरका बिरुवा रोपिएको हो । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले गुलमोहरका बिरुवा रोप्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । डम्पिङ क्षेत्रलाई पार्कको रुपमा परिवर्तन गर्न सुन्दर, सफा, हरियाली बनाउन गुलमोहर रोपिएको मेयर लामाको भनाइ छ ।

यसैगरी १० नं. वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामाले डम्पिङ साइडलाई व्यवस्थित गर्न पार्क निर्माण गर्न लागिएको बताउनुभयो । जनघनत्वका हिसाबले उपमहानगरका अन्य वडा भन्दा १० नम्बर वडा ठूलो भएकोले यस वडालाई नमूना वडा बनाउन आफू लागि पर्ने वडा अध्यक्ष लामाले प्रतिबद्धता जनाउनुभयो ।

सेनेटरी पार्क निर्माणकोलागि उपमहानगरबाट २५ लाख रुपैयाँ बजेट बिनियोनन भएको छ । वृक्षारोपण कार्यक्रममा ग्रिन एण्ड क्लीन सिटी सर्भिसेज प्रालीका अध्यक्ष नवराज खतिवडा लगायतको उपस्थिती थियो ।













