बागमती मन्त्रीपरिषद्ः दुई कर्मचारी प्रदेश सचिवमा बढुवा, एक हजार ५९५ दरबन्दी स्वीकृत
१४ साउन, हेटौँडा । बागमती प्रदेशको सरकारले २ जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले स्वास्थ्य सेवा तर्फका नारायण बहादुर कार्कि र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको विभिन्न प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । ऐन अनुसार सो तह प्रदेश सचिव सरह हुने व्यवस्था रहेको छ । प्रदेश सरकारले यसअघि नै ऐन अनुसार दुई जनालाई ११ औं तहमा बढुवा गरि पद्स्थापन गरिसकेको छ । यो निर्णयसंगै प्रदेश सरकारमा ४ जना सचिव नियुक्त भएका छन् । यसैगरी आइतबार नै बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ । यस्तै, उक्त बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।













