सर्वोच्चको आदेश अनुसार नै हेटौंडामा सडक विस्तार हुन्छः सडक डिभिजन कार्यालय
१३ साउन, हेटौँडा । सर्वोच्च अदालतको आदेश अनुसार नै हेटौंडा बजारको सडक विस्तार हुने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
सर्वोच्चले छलफलका लागी बोलाउँदैमा सडक विस्तार रोकिन्छ भन्न नमिल्ने कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार यादवले बताउनुभयो । यसअघि परेका ३ सय ४१ वटा मुद्धाको फछर्यौट भइसकेको उल्लेख गर्दै प्रमुख यादवले साउन १६ गते पछि जुन सुकै समयमा हेटौंडा बजारमा डोजर चल्ने बताउनुभयो । उहाँले सडक विस्तार सम्बन्धी यो पटकको सुचना नै अन्तिम भएको समेत स्पष्ट पार्नुभयो । साउन १६ गतेपछि कुनै पनि सुचना जारी नभई स्टे अर्डर लिएका घरबाहेक अन्य घरहरु भत्काएर सडक विस्तार गरिने प्रमुख यादवले बताउनुभयो ।

यता हेभि इक्युपमेन्ट डिभिजन हेटौंडाले पनि सडक विस्तारको लागि तत्काल १० वटा इक्युपमेन्ट सहित अर्पेटरहरु तयारी अवस्थामा रहेको जनाएको छ । चार तला सम्मका घर भत्काउन मिल्ने लङ बुम एक्साभेटर, डोजर टिपर सहितका इक्युपमेन्टहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको कार्यालयका सुचना अधिकारी बरुण शाहले बताउनुभयो ।

गत असार १० गते सडक डिभिजन हेटौँडाले रातोमाटे बुद्धचोक राप्तीपुल सम्म दायाँ बाँया २५—२५ गज क्षेत्रका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।













