फेकोफन बागमती प्रदेशद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र
७ साउन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई आईतबार ज्ञापनपत्र बुझाएको छ ।
फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री जमरकट्टेलाई प्रदेशले लगाएको २० प्रतिशत शुल्क हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा बागमती प्रदेशको वन ऐन २०७६ को दफा ३८ ( ३ ) मा सामुदायिक वनको वन पैदावार विक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम प्रदेश कोषमा जम्मा गर्नु पर्ने ब्यवस्था गरिएकोमा आर्थिक ऐन २०८० मा दफा २० थप गरि उक्त कर रकम बढाई २० प्रतिशत रकम प्रदेश कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरेकोमा महासंघले विरोध गरेको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले महासंघले राखेको मागलाई मन्त्रपिरिषदको बैठकमा लैजाने आश्वासन दिनुभयो । आफू सदैव सामुदायिक वनप्रति सकारात्मक रहेको र सामुदायिक वनको विकासको लागि प्रदेशले बजेटको समेत ब्यवस्था गरेको उहाँले बताउनुभयो । आफुहरुको माग ५ दिन भित्र पूरा नभएमा साउन १४ गतेदेखि महासंघले चरणबद्ध आन्दोलन गर्ने प्रदेश अध्यक्ष सापकोटाले बताउनुभयो । महासंघको बैठकले सरकारसँग बार्ता गर्न प्रदेश अध्यक्ष सापकोटाको संयोजकत्वमा ७ सदस्यीय बार्ता समिति समेत गठन गरेको छ ।













