साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छः मन्त्री श्रेष्ठ
३ साउन, हेटौँडा । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
बुधवार सञ्चार रजिष्ट्रारको कार्यालय वागमती प्रदेशले प्रकाशन गरेको पुस्तक साइबर सुरक्षा अवधारणा र अभ्यास को विमोचन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई जति सक्दो त्यति बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनका लागि केही सुरक्षाकर्मीलाई जिम्मेवारी सुम्पेर मात्रै नपुग्ने उल्लेख गर्नुभयो । उहाँले साइबर सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई समयानुकल प्रशिक्षित गरिरहनुपर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले प्रदेशमा प्रादेशिक सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गरी सक्रिय गराउनुपर्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले साइबर सुरक्षामा आन्तरिक र वाह्य समन्वयको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताउनु भयो । उहाँले साइबर सुरक्षाको सचेतना नागरिक तहसम्म फैलाउनुपर्ने हुन्छ बताउनु भयो । नागरिक तहसम्म सचेतना फैलाउने काम प्रदेश र स्थानीय तहले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले केन्द्रिय डाटा सेन्टरलाई सुरक्षित गर्न प्रादेशिक तहमा साइबर सुरक्षा अप्रेसन सेन्टर राख्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले संघीय नीतिमा तालमेल मिलाएर प्रदेश र स्थानीय विशेषताका आधारमा साइबर सुरक्षा रणनीति लागू गर्नुपर्ने बताउनु भयो । उहाँले सो रणनीतिमा मेल खानेगरी ऐन कानूनहरु निर्माण गर्नुपर्ने र त्यस्तो विषयमा संघीय सरकारले प्रोत्साहित गर्ने नीति बनाउनु पर्ने बताउनु भयो ।













