मकवानपुरको ३ वटा स्थानीय तहले साउन १ गतदेखि सुर्तीजन्य पदार्थ निषेध गर्ने
३१ असार, हेटौँडा । मकवानपुर जिल्लाको ३ वटा स्थानीय तहले साउन १ गतेबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले ०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिनुभयो । प्रवक्ता न्यौपानेले निर्देशन नमान्नेलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने बताउनुभयो । उहाँले होटेल तथा रेस्टुरेन्टहरूलाई समेत सुर्तीजन्य पदार्थ प्रयोग गर्न स्मोकिङ जोन छुट्याउन पत्राचार गर्ने बताउनुभयो ।
यसैगरी बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषध सहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताउनुभयो ।
मनहरी गाउँपालिकाले पनि पालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने जनाएको छ । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।













