हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

स्वर्णिम खबर
२५ असार २०८०, सोमबार १५:३९

२५ असार, हेटौँडा । हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।
हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ । हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो। हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुनेछ । नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा ११ थानाभर्याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट)का २ वटा टावर निर्माण भइरहेको छ। उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*