फोहोरबाट नविकरणीय उर्जा उत्पादन गर्ने मेसिन जापान निर्यात सुरु

स्वर्णिम खबर
१७ असार २०८०, आईतवार १२:३१

१७ असार, हेटौँडा । फोहोरबाट नविकरणीय उर्जा हाईड्रोजन ग्याँस क्लिङकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ ।
आईतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले एक कार्यक्रमको बीच मेसिन जापान निर्यातको शुभारम्भ गर्नुभएको हो । जापानी कम्पनी यामातो ईन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नविकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भईरहेको छ । कानूनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नविकरणीय उर्जा बनाउँदा फोहोर ब्यवस्थापन सहज हुने जापानीज बैज्ञानिक मासामोरा यामाजीले बताउनुभयो । यहाँ उत्पादित ३ वटा मेशिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भईसकेको यामातो ईन्टरनेशनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताउनुभयो ।


मेशिनले फोहोरमा भएका टिन, फलाम लगायतका बस्तु छानेर अलग गरिदिन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने सञ्चालक खतिवडाले जानकारी दिनुभयो ।


मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उहाँको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको निर्माण कम्पनीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*