हेटौंडाको रातोमाटेबाट अवैध सुन र कपडा बरामद

स्वर्णिम खबर
३१ जेष्ठ २०८०, बुधबार १३:०७

३१ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार साहले जुत्ताको नोकभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त रकम बराबरको ५६१ दशमलब ३० ग्राम सुन बरामद गरिएको उहाँले बताउनुभयो । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

यसैगरी रातोमाटेबाट नै प्रहरीले अबैध कपडा समेत बरामद गरेको छ । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा एकसय थान साडी र छसय थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार कपडाको मूल्य करिब एकलाख ५ हजार रुपैयाँ बराबर रहेको छ । प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*