भुमिहीनहरुको समस्यामा नेताहरुले भोटको राजनीति नगरौँः सांसद् बर्तौला

स्वर्णिम खबर
१३ जेष्ठ २०८०, शनिबार २०:१७

१३ जेठ, हेटौँडा । मनहरी गाउँपालिकाका भुमिहीन सुकुम्बासीको समस्या प्रति राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन् ।
शनिबार भुमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले गरेको बृहत अन्तरक्रिया कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको ज्यादती विरुद्ध राजनीतिक दलहरुले सुकुम्बासीका पक्षमा एक्यबद्धता जनाएका हुन् । संघीय सांसद् महेश बर्तौला बागमती प्रदेश सरकारका मन्त्री कुमारी मोक्तान, सांसद इन्द्रबहादुर बानिंयाँ, गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेती लगायतले ऐक्यबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै संघीय सांसद् बर्तौलाले मध्यवर्ती क्षेत्र खारेजी गर्नुपर्ने बताउनुभयो । सांसद् बर्तौलाले भुमिहीनहरुको समस्यामा नेताहरुले भोटको राजनीति गर्न नहुने बताउनुभयो । सत्तापक्ष, प्रतिपक्ष नभनी स्थानीयहरुलाई लालपुर्जा दिन सबै दलहरु एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश सरकार सुकुम्बासी समस्या समाधान गर्न गम्भीर रहेको बताउनुभयो । प्रदेश सांसद् इन्द्रबहादुर बानिंयाले भुमि मन्त्रालय र वन मन्त्रालयबीचको टकरावको शिकारमा मनहरीको बासिन्दालाई नपार्न संघीय सरकारलाई चेतावनी समेत दिनुभयो । सांसद् बानिंयाले व्यवस्था फेरिए पनि जनताको अवस्था भने नफेरिएको बताउनुभयो ।


कार्यक्रममा प्रदेश सांसद् एकालाल श्रेष्ठ, जिल्ला भुमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाल, संविधानसभा सदस्य राजाराम स्याङतान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतले मन्तव्य राख्नुभएको थियो । मनहरी ७ मनकामना मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम सुरु हुनुअघि रमन्टार र सिमपानीबाट छुट्टाछुटटै ¥यालीको आयोजना भएको थियो । ¥यालीमा सहभागी सयौँका संख्याका भूमिहीनहरुले लालपुर्जाको माग गर्दै भ्रष्टाचार विरुद्ध समेत नाराबाजी गरेका थिए । स्वतस्फूर्त रुपमा नागरिकको तहबाट आन्दोलन थालिएको र यसले निरन्तरता पाउने संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*