मिटरब्याजी पीडितहरुद्वारा बिहानैबाट प्रदर्शन, गृह मन्त्रालयले भन्योः समस्या तत्काल समाधान गर्न सकिँदैन
१४ चैत्र, काठमाडौँ । मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन शुरु गरेका छन् ।
पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् । यता सरकारले भने मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृह मन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्नको लागि पहल गर्ने आश्वासन दिनुभयो ।

पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए ।













