प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरियोः राष्ट्रपति
३ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक फेरी नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताउनुभयो । राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको बताउनु भयो । राष्ट्रपति पौडेलले अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न समेत आग्रह गर्नुभयो । उहाँले राजनीतिक दल, मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशिल हुन आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताउनुभयो । संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै उहाँले यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आम नेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले सुशासन, बेथितिको अन्त्य, सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव भएको बताउनुसभयो ।
राष्ट्रपति पौडेलले जेन जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रदाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्नुभयो ।













