मेरो जिरी यात्रा….

रामशरण दुलाल
१४ असार २०८२, शनिबार १७:११

१४ असार, हेटौँडा । जीवनको हरेक मोडमा केही सपना हुन्छन्, जो कहिल्यै हराउँदैनन् । ती सपना समयको छेउछाउमा बसेका हुन्छन्, समय कुरिरहेका हुन्छन् । कहिले, कुनै बहानामा साकार हुनेछन् भनेर । म पनि यस्तै एक सपना बोकेर बसेको थिए । नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरी पुग्ने सपना ।
वर्षौँ अघिदेखि मेरो मनभित्र एक अनाम आकर्षण पलाएको थियो जिरीप्रति । कहिल्यै नदेखेको तर मनभित्र गहिरो बसोबास गरिसकेको त्यो ठाउँ—त्यसको सौन्दर्य कस्तो होला, मौसम कस्तो होला, मानिसहरू कस्ता होलान्, यस्तै यस्तै प्रश्नहरू मेरा कल्पनामा उर्लिने गर्थे । अन्ततः एक दिन त्यो सपना साकार बनाउने घडी आयो ।
सपना साकार गर्न एउटा सानो बहानाको पनि ठुलो भूमिका हुन्छ । हाम्रो संस्था, जुन सामाजिक उत्तरदायित्व र मानवीय चेतनाको सेवामा समर्पित छ, त्यसको बैठकको स्थान निर्धारण गर्ने बेला भयो । मनमा जिरीको नाम सबभन्दा पहिला उब्जियो । किनभने अब त कुनै कार्यक्रमकै बहानामा भए पनि जिरी पुग्न पाइने भयो । साथीहरू पनि एक स्वरमा सहमत भए । यसरी एउटा बहानाबाट सुरु भएको मेरो सपना अब वास्तविक यात्राको दिशामा बढ्न थाल्यो ।
हामी १० जना, एउटा टाटा सुमोको आत्मीयता बोकेर, बिहान ६ बजे हेटौडाबाट निस्कियौं । छ जना दाजुभाइ, तीन जना दिदी बहिनीहरू अनि एकजना हाम्रा यात्रा सफल तुल्याउने गुरुजी—सबैको मुहारमा यात्रा र उमंगको चमक झल्किरहेको थियो । मदन भण्डारी लोकमार्ग (धरान चतरा सडक ) भएर सिन्धुलीको रमणीय सौन्दर्य पार गर्दै हामी अघि बढ्यौं । सडकमा न त खाल्डाखुल्डी थिए, न त बाधा–अवरोध । गाडीको झ्यालबाहिर हरियाली डुलिरहेको थियो । साथीहरूको गफ, हाँसो, अनि देशको राजनीतिबाट लिएर प्रेम–प्रसंगसम्मका कुराकानीले सुमोको हरेक सिट बोलिरहेको थियो ।
सिन्धुली बजार नजिक पुग्दा त्यहाँका एकजना आदरणीय अग्रज प्रेम दाहाल दाइले हामीलाई स्वागत गर्नुभयो । सादगीपूर्ण आत्मीयताले भरिएको त्यो स्वागत जीवनभरिको सम्झनामा रहनेछ । दही–चिउराको सानो खानाले हाम्रो थकाइलाई बिसाइदियो । त्यो स्वादले बैशाषमा पनि असारका यादहरू एकाएक ताजा बनायो ।
सिन्धुलीगढीको ऐतिहासिक थुम्कामा उभिँदा एक गीत स्मृति मनमा झझल्कियो—“सुन्तली माई कतिमा राम्रो, दरवार मा¥यो नी मायाले मा¥यो…”। गढीको उचाइबाट सिन्धुली बजार नियाल्दा नेपाली इतिहासका पानाहरू झझल्किए—गोरखा सैन्यको शौर्य, भू–नीति र भूगोलले बुनेको त्यो धरातल ।


तर यात्रा सधैँ एकरस हुँदैन । घुमाउरो बाटो, उकालो–ओरालो र सुमोको पछाडि सिटमा बस्ने साथीहरूका मुहारमा थकान र असहजता देखिन थाल्यो । एकजना साथीले गाडी रोक्न आग्रह गरे—“गाडी रोकौं, अलि गाह्रो भयो!“ गुरुजीले गाडी छेउ लगाउनुभयो । यात्राको त्यो क्षण हाम्रो सामाजिक संयोजनको परीक्षा पनि बन्यो । गाडीमा कसलाई कहाँ बसाउने भन्ने कुरामा सन्तुलन मिलाउँदै हामी फेरि अघि बढ्यौं ।
अबको बाटो झन् रोमाञ्चक थियो—साघुरा सडक अनि मोड, साँघुरो मार्ग, हरियो पाखा र तल बगिरहेकोे सुनकोशी नदी । खुर्कोट हुँदै हामी रामेछापको मन्थलीतर्फ मोडियौं । अब भने सुमो साँच्चिकै ’सुमो’ बन्न थालेको थियो—कहाँ कताबाट उफ्रने हो थाहा नहुने । पछाडिको सिटमा बस्ने हामीलाई झट्काले कहिले आकाश छुन बाध्य पाथ्र्यो, कहिले सिटभित्र च्यापिन्थ्यौं ।
जेहोस मन्थली पुगेर खाना खाईयो आत रमायो तर एउटा हिन्दी गाना छ नि , हाय गर्मी……..हो त्यस्तै भयो । जिरीमा जाडो हुन्छ भनेर बोकेर गएको ज्याकेटले एकपटक चै गिज्याए झै लाग्यो मलाई जे होस हेटौडाको भन्दा गर्मी लाग्यो ।
हामी पुनः यात्रातर्फ लाग्यौं । सडक अब झन् साँघुरो र चटक्क परेको थियो । उकालो चढ्दै गर्दा गाडीको धक्का कहिले मसाज जस्तै लाग्थ्यो, कहिले झट्का जस्तै । टाउको टक्करिन्थ्यो, छाती भरिएको वायुलाई एकाएक विस्फोट गरिदिन्थ्यो । गुरुजीलाई हरेक मोडमा सम्झाइन्थ्यो—“पछाडि पनि मान्छे छन्, अलिक नरम है!“।
यात्रा अगाडी बढदै छ । जिरी जाने र चरिकोट जाने बाटो आई पुग्यो । अबको यात्रा अलि सहज होला जस्तो लागिरहेको छ । अघिको भन्दा फराकीलो वाटो अलि चिसो अनुभव जिरी नजिक पुग्न लाग्दाको त्यो क्षण……अव पो मज्जा छ । ऐसेलुको बोट त्यही बोटमा लटरम्म पहेला दाना आहा मुखवाट पानी आईसक्यो गुरुजी गाडी रोक्दैनन् । हान्दिउकी क्या हो मनले त्यसो भनि सक्या छ । तर गाडी रोकीदैन उ आयो …भन्छु (ऐसुलुको वोट) गाडी रोकीदैन अव त सबै कराउन थाले अनि गुरुजीले गाडी रोकेको मात्रै के थिए । चुपो लागेर बस्ने हाम्रो संगठनको प्रदेश महासचिब फुत्तै कान्ला माथि आफुपो पछाडी परिएछ । अहिले चलेको गित छ नि मकै वारी दर¥याम दर¥याम …..त्यस्तै ऐसेलुको बोटमा दर¥याम दर¥याम यो अनुभव अबिस्मरणिय र¥यो । साना साना नानी बावुले ल्याएका काफलका दानामा हामी करिव एक घण्टा भुलिए छौ । जे होस धेरै बर्ष पछि ऐसेलु काफल खाईयो आनन्द आयो ।
करीब ३ बजे दिउँसो, जिरीको पवित्र धरतीमा हामीले पाइला टेक्यौं । त्यो क्षण मेरा लागि सपनासँग साक्षात्कार गर्ने क्षण थियो । स्वच्छ नीलो आकाशमुनि अवस्थित जिरी, सादा र सरल मानिसहरूको बसोबास, अनि हराभरा पाखाहरू—सबैले स्वागत गरे झैँ लाग्यो । त्यहाँको शान्ति, चिसोपन, र आत्मीय वातावरणले मलाई एक अलग अनुभूति गरायो । यो त्यो स्थान थियो, जहाँ हृदय विश्राम पाउँथ्यो, जहाँ आँखाले सौन्दर्य खान्थ्यो, र जहाँ आत्माले सन्तोष गथ्र्यो ।
जिरी पुगियो, तर यात्रा सकिएको थिएन । मनले फेरि जान चाहन्छ । अझ धेरै दृश्य यि कोमल नयनमा कैद गर्नुछ । अझ प्रकृतिसँग आत्मीयता गाँस्न, अझ आफ्ना सपनालाई विस्तार गर्न फेरी जिरी जानु छ ।
किनभने यो यात्रा मात्र गन्तव्यमा पुग्ने कथा होइन, यो आत्मा र स्वप्नको मिलन बिन्दु थियो ।
यात्रा कहिल्यै केवल भौगोलिक दूरी मात्र हुँदैन; त्यो भावना, स्मृति र आत्माको यात्रा समेत हो । जिरीको यो यात्राले मलाई केवल एउटा स्थान मात्र देखाएको छैन, यसले मलाई आफैंभित्रको उत्साह, सहयात्रीहरूप्रतिको प्रेम, र नेपाली भूगोलप्रतिको गहिरो माया सम्झाएको छ । धन्यवाद

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*